बेलायती प्रधानमन्त्री बोरिस जोन्सको स्वास्थ्य अवस्था सुधार हुँदै गएको जनाइएको छ।
तेस्रो रात पनि सघन उपचार कक्षमा बिताएका प्रधानमन्त्री जोन्सन अहिले उठेर बस्न सक्ने अवस्था रहेको र उनको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण भएका ५५ वर्षका जोन्सनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार लण्डनस्थित सेन्ट थोमस हस्पिटल भर्ना गरिएको थियो । अवस्था थप गम्भीर बनेपछि उनलाई सोमबार आइसियूमा सारिएको थियो ।
उनलाई अक्सिजन प्रदान गरिए पनि भेन्टिलेटर भने नराखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । गएको मार्च २७ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनी आइतबारसम्म घरमै आइसोलेसनमा थिए ।