अफगानिस्तान सरकारले पछिल्लो पटक १ सय ६१ जना तालिबानी बन्दीहरुलाई कैदमुक्त गरेको अफगान सरकारका एक प्रवक्ताले बताएका छन् ।
राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जाविद फैजलले राष्ट्रपतिको आदेशमा मुक्त गरिएका सबै कैदीहरु बाघ्राम कारागारका रहेको जानकारी दिए ।
उनले राष्ट्रपतिको आदेशबाट अरु कैदीबन्दी पनि रिहाई हुने क्रममा रहेको बताए । प्रवक्ता फैजलले मुलुकको शान्ति प्रक्रियालाई थप विश्वसनीय बनाउने प्रयत्न स्वरुप सरकारका तर्फबाट गरिएको एक कार्य रहेको बताए ।
यसअघि अप्रिल ८ मा १ सय जना तथा गत बिहीबार अरु १ सय जना तालिबानी कैदीबन्दीलाई मुक्त गरिएको थियो । सरकारले आगामी २ साताभित्रै १ हजार ५ सय तालिबान लडाकूलाई जेलमुक्त गर्ने जनाएको छ ।
अमेरिका र तालिबानबीच भएको सम्झौतामा ५ हजार तालिबान लडाकू र तालिबानको कब्जामा रहेका १ हजार अफगान सरकारी फौजलाई मुक्त गर्ने सहमति भएको छ । एजेन्सी