न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा आर्डेर्नले आफू र आफ्ना मन्त्रीहरुले आउँदो ६ महिनासम्म २० प्रतिशत कम पारिश्रमिक बुझ्ने बताएकी छिन् ।
कोरोना भाइरस (कोभिड-१९) को प्रकोपका कारण रोजगारी गुमाएका र तलबमा कटौती भएकाहरुका समर्थनमा यस्तो घोषणा गरेको प्रधानमन्त्री आर्डेर्नले बताइन् ।
आर्डेर्नको वार्षिक पारिश्रमिक दुई लाख ८५ हजार अमेरिकी डलर रहेको छ । साथै उनले निजी क्षेत्रका वरिष्ठ अधिकारीहरु र अन्य राजनेताहरुको पनि पारिश्रमिक कटौती गरिने बताएकी छिन् ।
न्युजिल्याण्डमा कोरोना भाइरस फैलिएको सुरुवाती चरणमा नै लाकडाउन गरेर नियन्त्रणमा लिन सकेको भन्दै विश्वभरि उनको नेतृत्वको प्रशंसा भएको थियो ।
न्युजिल्यान्डमा अहिलेसम्म एक हजार तीन सय ८६ जनामा सङ्क्रमण देखिएको छ भने ९ जनाको ज्यान गएको छ । एजेन्सी