युक्रेनमा चेर्नोबिल परमाणु भट्टी (न्युक्लियर रियाक्टर) नजिकै जङ्गलमा भयानक आगलागी भएको छ।
एकहप्ता भन्दा बढि समय देखि जारी आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। आगो अहिले बिग्रिएको चेर्नोबिल आणविक ऊर्जा केन्द्रबाट केवल एक किलोमिटर दूरीमा रहेको छ बीबीसीले जनाएको छ।
युक्रेनी अधिकारीहरुका अनुसार आगो निभाउन हजारौं अग्निनियन्त्रक तथा हेलिकोप्टर परिचालन गरिएको छ। अग्निनियन्त्रकहरुले जङ्गलको अन्य भागमा फैलिएको आगो नियन्त्रण गर्न सके पनि मङ्गलबारबाट फेरि ठूलो दुर्घटना भइसकेको परमाणु भट्टी नजिकै आगलागी सुरु भएको छ।
युक्रेनी अधिकारीहरुले आगलागी नियन्त्रणमा रहेको बताएपनि ग्रीनपीस रसियाले भने अवस्था अत्यन्त नाजुक र उनीहरूले दाबी गरेको भन्दा आगोले हजार गुणा ठूलो क्षेत्र ओगटेको जनाएको छ। वातावरणविद्हरुले उक्त क्षेत्रमा आगो लागे मानव स्वास्थ्यका लागि हानिकारक रहेका परमाणु विकिरण फैलिने चेतावनी दिएका छन्। यदि त्यो क्षेत्रमा आगलागी भए राजधानी किभ सम्मै हानिकारक धुँवा उड्न सक्छ। जुन मानव स्वास्थ्यका लागि निकै घातक छ।
राष्ट्रपति वोलोडिमर जेलेन्स्कीको कार्यालयले जङ्गलमा भइरहेको वर्षा एवं अग्निनियन्त्रकको प्रयासले परमाणु भट्टी क्षेत्रमा आगो फैलन रोकेको तर पूर्ण नियन्त्रणमा भने आइनसकेको जनाएको छ। सुख्खा मोसमका कारण जङ्गलमा आगो फैलिएको हो। प्रहरीले एक २७ वर्षीय युवकलाई जङ्गलमा जानाजान आगो फैलाएको आरोपमा नियन्त्रणमा छ।
विश्वकै ठुलो दुर्घटना
सन् १९८६ को अप्रिल २६ मा युक्रेनको प्रिप्यत शहर नजिकै रहेको चेर्नोबिल परमाणु भट्टीमा भयानक आणविक दुर्घटना भएको थियो। यसलाई विश्वकै सबैभन्दा ठुलो आणविक दुर्घटनाका रुपमा लिइन्छ। त्यतिबेला न्युक्लियर भट्टी पड्कँदा त्यसको निकै असर परेको थियो।
परमाणु रियाक्टरमा बिजुलीको मात्रा बढेपछि अत्यधिक गर्मीका कारण चार तल्ले भवन पनि ध्वस्त भएको थियो । त्यहाँ अग्निनियन्त्रक पठाइँदा उनीहरूलाई पनि केमिकल रियाक्सनले असर गरेको थियो।
३१ जनाको मृत्यु भयो भने करिब चार लाख मानिसहरु विस्थापित भए। परमाणु विकिरणले ग्रसित बनेको प्रिप्येत शहरलाई पुरै खाली गराइएको थियो।
अहिले त्यो शहरमा मानिसको बसोबास छैन। विकिरण यति भयङ्कर थियो की त्यस नजिकको असर परेका मानिस अझै पनि क्यान्सर र अपाङ्गतासँग जुझिरहेका छन् । बीबीसी