डेनमार्कमा लामो समयको लकडाउनपछि बुधबारबाट स्कुलहरु खोलिएको छ। कोरोना भाइरसका कारण बन्द गरिएका विद्यालयहरु एक महिनाको लामो समयपछि बुधवारबाट फेरि खोल्न थालिएको हो।
लकडाउनले बन्द गरिएका स्कुलहरु खोल्ने डेनमार्क युरोपमा पहिलो देश बनेको छ। कोरोना संकमण रोकथामका लागि भन्दै स्कुल तथा विश्वविद्यालयहरु मार्चको १२ तारिखमा बन्द गरिएको थियो। समाचार एजेन्सी एएफपीका अनुसार डेनमार्कका आधा शहरमा नर्सरी एवं प्राथमिक विद्यालयहरू खुलेका हुन।
राजधानी कोपेनहेगमा भने ३५ प्रतिशत विद्यालयहरूमा मात्र कक्षा सुरु भएको छ। अन्य खुल्न बाँकी रहेका स्कुलमा स्वास्थ्य प्रोटोकल समायोजन गर्न अनुरोध गरिएको छ। देशका सबै विद्यालयहरु भने अप्रिल २० देखि खुल्ने छन्।
अधिकारीहरुले सबैले सामाजिक दुरी कायम राख्नुपर्ने र हात धुने सर्तमा स्कुलहरु खोलिने बताउँदै आएका थिए। स्कुलहरुलाई दुई मिटर (करिब ६ फिट) को दुरीमा कक्षा कोठामा बेन्च राख्न भनिएको छ।
सरकारद्वारा जारी निर्देशिकाका अनुसार कक्षा बाहिरनै कतिपय स्कुलले कक्षा सञ्चालन गरेका छन्। तर, शहरमा यसरी कक्षा सञ्चालन गर्न चुनौतीपूर्ण छ। केही अभिभावकहरूले भने स्वास्थ्यबारे चिन्ता व्यक्त गर्दै फेरि स्कूल खोल्ने सरकारको निर्णयको विरोध गरेका छन्।
उनीहरुले निवेदननै दायर गरेका छन् । १८ हजार हस्ताक्षर गर्दै दिइएको निवेदनमा ‘हाम्रा बच्चा गिनि पिग (परिक्षणको लागि प्रयोग मुसा गरिने) होईन’ भन्ने उल्लेख छ।
मंगलबारसम्म डेनमार्कमा कोरोना भाइरसबाट ६६९१ जना संक्रमित छन् भने २९९ जनाको मृत्यु भइसकेको छ। भाइरसको जोखिमपछि डेनमार्कले १० जनाभन्दा बढी मानिसको भेलामा प्रतिबन्ध लगाएको छ। बार, रेष्टुरेन्ट, शपिंग मल र क्लबहरू बन्द भएका छन्।