logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट गर्भवती नर्सको मृत्यु, पेटमा रहेको शिशु भने सकुशल


अंकुरण खबर
1.274K
Shares

बेलायतमा कोरोना संक्रमणका कारण गर्भवती नर्सको मृत्यु भए पनि उनको गर्भमा रहेको शिशुलाई सकुशल बाहिर निकाल्न चिकित्सक सफल भएका छन्।

लुटन एन्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा ५ वर्षदेखि कार्यरत २८ वर्षीया नर्स मेरी अगियइवा अग्यापोङको कोरोना संक्रमणका कारण गत आइतबार मृत्यु भएको हो। तर उनको मृत्यु भएलगत्तै चिकित्सकले आकस्मिक शल्यक्रिया गरी पेटमा रहेको बच्चा जीवितै निकालेका हुन्। यही अप्रिल ७ तारिख ती नर्सलाई उनी कार्यरत हस्पिटलमै भर्ना गरिएको थियो।

उनका श्रीमानलाई अहिले आइसोलेसनमा राखिएको छ भने नवजात शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। शिशुमा कोरोना भाइरसको संक्रमण भएरनभएको केही खुलाइएको छैन। अस्पताल ट्रष्टका प्रवक्ताले कोरोनाबाट निधन भएकी नर्सको बच्चा अहिले स्वस्थ रहेको भन्दै थप जानकारी नदिएको बीबीसीले लेखेको छ।

मेरी एक उत्कृष्ट नर्सको रुपमा काम गरिरहेकी थिइन्, बेडफोर्डशायर अस्पताल एनएचएस फाउन्डेसन ट्रस्टका प्रमुख कार्यकारी डेभिड कार्टरले भने, उनको यस्तो दुःखद निधनले हामीलाई निकै मर्माहत बनाएको छ। हामी यस समयमा मेरीको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं।