भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन्।
बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड-१९’ का संक्रमितहरुको संख्या १२ हजार ३८० जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ४८९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन्।
मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १० हजार ४७७ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन्। भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या ३७ रहेको पाइएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४१४ पुगेको छ।
पछिल्ला केही दिनमा कोविड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको सरकारको भनाइ छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन्। बिहीबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ।