logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

वुहानमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा १२९० थपिए


अंकुरण खबर
1.625K
Shares

कोरोना भाइरस (कोभिड–१९) को उद्गम स्थल मानिएको चीनको वुहानमा यो महामारीबाट मृत्यु हुनेको संख्या एक हजार २९० जना थपिएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका हुन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरु गणनामा छुटेका थिए ।

वुहानले कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पुनरावलोकन गर्दै तीन हजार ८६९ पुर्‍याएको हो । समग्र संक्रमितको संख्यामा पनि उसले ३२५ थप गरेको छ । वुहानमा समग्र संक्रमितको संख्या पनि ५० हजार ३३३ पुगेको छ ।

यो संख्या चीनको समग्र संक्रमितको करिब दुईतिहाइ हो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार महामारीको समयमा पर्याप्त भर्ना तथा उपचारको क्षमताको अभावको कारण केही मेडिकल संस्थाले समयमा नै रोग नियन्त्रण तथा रोकथाम प्रणालीलाई जानकारी दिन सकेका थिएनन् । त्यतिबेला अस्पताल तथा मेडिकलहरुमा बिरामीको अत्यधिक चाप थियो । त्यसैले वास्तविक नतिजामा ढिलाइ, छुट्ने र गलत तथ्यांक दिने क्रम बढेको थियो ।

अहिले सार्वजनिक गरिएको नयाँ तथ्यांक वुहानको महामारी नियन्त्रण तथा रोकथामको तथ्यांकमा जोडिएको छ । साथै दोहोरिएकालाई हटाउने र छुटेकालाई थप्ने काम पनि भएको अधिकारीहरुले बताएका छन् । यसअघि अस्पतालमा भर्ना भएकाभन्दा बाहेकका बिरामीको मृत्युलाई भने समावेश गरिएको थिएन । साथै केही मेडिकल संस्थाहरुले संक्रमण पुष्टि तथा मृतकको तथ्यांक ढिलो बुझाएका थिए ।

चीनले सार्वजनिक गरेको तथ्यांकमा विश्वभर आशंका उत्पन्न भइरहेको समयमा वुहानले आफ्नो तथ्यांकमा पुनरावलोकन गरेको हो । यसअघि चीनले वास्तविक मृतकको संख्या घटाएको आरोप लाग्दै आएको थियो ।