logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हङकङमा कोरोना संक्रमितको संख्या एक हजार २५, आइतबार दुई बिरामी भेटिए


अंकुरण खबर
1.287K
Shares

हङकङमा आइतबार दुई कोरोना संक्रमित भेटिएका छन्। हङकङमा लगातार ८ दिनसम्म एक अंकको संख्यामा कोरोना संक्रमित भेटिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यसअघि शनिबार हङकङमा दुई जनामात्र कोरोना संक्रमित भेटिएका थिए। यससँगै हङकङमा कोरोना संक्रमितको संख्या एक हजार २५ पुगेको छ। त्यहाँ कोरोनाका कारण हालसम्म चार जनाको मृत्यु भएको छ। नयाँ संक्रमित केही व्यक्तिहरु हालै बेलायतबाट हङकङ आएका थिए।

विदेशबाट आउने पर्यटकले हङकङमा कोरोना भित्र्याएपछि सरकारले विदेशी पर्यटकका लागि तत्कालका लागि भ्रमण प्रतिबन्ध लगाएको छ। यद्यपी हङकङले विदेशबाट आफ्नो नागरिक भने फर्काइरहेको छ।

हाल हङकङमा विदेशबाट फर्किने सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ। उनीहरु सबैलाई सरकारले विद्युतीय रिस्ट ब्याण्डबाट निगरानी गर्दछ। क्वारेन्टिनमा बस्ने सबैलाई रिस्टब्याण्ड अनिवार्य लगाउनु पर्दछ।

हाल हङकङमा भिडभाड गर्न प्रतिबन्ध लगाइएको छ। यहाँ चार जनाभन्दा बढी मानिस एकसाथ देखिए कारवाही गरिन्छ।

पछिल्लो समय हङकङमा कोरोनाको प्रभाव घट्दै गएको देखिएको छ।