logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकालाई आर्थिक सहयोग नरोक्न विश्व स्वास्थ्य संगठनको आग्रह


अंकुरण खबर
1.599K
Shares

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले बुधबार संयुक्तराज्य अमेरिका समक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

संगठनको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक टेड्रोसले संयुक्त राज्य अमेरिकाले संगठनका कार्यहरुलाई पुनः सहयोग गर्ने एवं मानिसको जीवन बचाउने कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

उनले संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई निरन्तर मद्दत गरिरहेको र अमेरिका नै संगठनलाई आर्थिक मद्दत गर्ने पहिलो नम्बरको मुलुक रहेको बताउँदै भने, ‘हामी अमेरिकाको त्यस सहयोगलाई भुल्न सक्दैनौं, र त्यसप्रति उच्च सराहना गर्दछौं ।’ इथियोपियामा अमेरिकी सहयोगकै कारण स्वास्थ्य प्रणालीमा सुधार हुन सकेको दृष्टान्त दिँदै निकै भावुक मुद्रामा महानिर्देशक टेड्रोसले भने, ‘मलाई आशा छ संयुक्त राज्य अमेरिकाले गरेको यो सहयोग अरुका लागि मात्र लगानी होइन, स्वयम् अमेरिकी जनताको स्वास्थ्यका लागि पनि हो ।’

गत साता अमेरिकी ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस फैलिएका बारेमा सूचनाहरु लुकाएको र संगठनले चीनको पक्ष लिएको भन्दै संगठनलाई दिइआएको आर्थिक सहयोग रोक्ने घोषणा गरेको थियो । अमेरिकी अधिकारीहरुले संगठनको भूमिकाका बारेमा पुनः मूल्याङ्कन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

अमेरिकाले हाल विश्व स्वास्थ्य संगठनलाई वार्षिक करिब ५० करोड अमेरिकी डलर प्रदान गरिरहेको छ । चीनले डब्लुएचओलाई करिब ४ करोड डलर दिँदै आएको छ । कोरोना भाइरसको जोखिम उच्च रहे पनि चीन र अरु मुलुकबाट अमेरिकातर्फ हुने यात्रामाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयप्रति डब्लुएचओले आलोचना गरेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् ।