आफ्नो विवादास्पद भनाइका कारण बारम्बार विवादमा आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि आलोचित बनेका छन्।
शरीरमा कीटाणुनाशक ‘इन्जेक्शन’ दिएर कोरोना भाइरसको उपचार गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा अनुसन्धान गर्न सुझाब दिएपछि चिकित्सकीय समुदायले ट्रम्पको आलोचना गरेको छ ।
साथै ट्रम्पले यूभी प्रकाशद्वारा रोगीहरुको शरीरमा विकिरण पठाउन प्रस्ताव गरेका थिए । यो उपायलाई एक डाक्टरले ब्रिफिङकै क्रममा खारेज गरिदिएको बीबीसीले जनाएको छ ।
कोरोना भाइरसको उपचारलाई लिएर ट्रम्पले दिएको सुझाब खतरनाक र हास्यास्पद रहेको डाक्टरहरुले बताएका छन् । यसअघि ट्रम्पका अन्य अधिकारीहरुले पनि सूर्यको किरण र कीटाणुनाशक ‘इन्जेक्शन’ले सङ्क्रमणलाई मार्ने बताएका थिए ।
गएको बिहीबार ह्वाइट हाउसमा कोरोना भाइरस कार्यदलसँगको छलफलमा एक अधिकारीले सरकारी अनुसन्धानको नतिजा प्रस्तुत गर्दै सूर्यको किरण र तातो मौसममा कोरोना भाइरस झट्टै कमजोर हुने सङ्केत गरेका थिए ।