संयुक्त राज्य अमेरिकाका चार राज्यका करिब तीन हजार ३०० कैदीलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ ।
अमेरिकाको ओहिओ राज्यस्थित एक जेलमा रहेकी एक महिलालाई पहिलोपटक कोरोना संक्रमण भएको थियो । कोरोना संक्रमण देखिएपछि जेलमा नै कोरोना परीक्षण गरिएको ओहिओको रिह्याबलिटेसन एन्ड करेन्कसन विभागका निर्देशक एन्नेट च्याबर्स-स्मिथले बताए ।
ओहिओको म्यारिओन करेक्सनल इन्स्टिट्युसनका रहेका दुई हजार ५०० कैदीमध्ये दुई हजार ३०० को जाँच गर्दा दुई हजार २८ मा कोरोना संक्रमण भएको भेटिएको थियो । जसमा ९५ प्रतिशत संक्रमितमा कोरोनाको कुनै लक्षण देखिएको थिएन ।
‘यो निकै आश्चार्यजनक थियो,’ च्याम्बर्स(स्मिथले भने, ‘त्यसपछि राज्यभरका २८ करेक्सनल सेन्टरमा जाँच सुरु गर्यौं ।‘
ओहिओसँगै अमेरिकाका अर्कान्सास, उत्तरी क्यारोलिना र भर्जिनियाका जेलमा गरिएको कोरोना संक्रमणबाट तीन हजार २७७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । जसमा ९६ प्रतिशतमा कोरोना भाइरसको लक्षण नदेखिएको बताइएको छ ।
कोरोना भाइरसको लक्षण नदेखिएका तर संक्रमण भएका देशभरका जेलमा रहेकोले परीक्षणको दायरा बढाउनुपर्ने बताइएको छ । अमेरिकामा हालसम्म विश्वकै सबभन्दा धेरै ९ लाख ६० हजार कोरोना संक्रमित फेला परेका छन् भने ५४ हजार २६५ को मृत्यु भइसकेको छ । रोयटर्स