कोरोना भाइरसबाट संक्रमित भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नियमित काम शुरु गरेका छन् ।
लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएका उनले काम शुरु गर्न आफू तयार रहेको अधिकारीहरुले जनाएका छन् ।
उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरुलाई सोमबारदेखि सामान्य अवस्थामा झैं काम गर्न थाल्ने बताएका छन् । प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाहअनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको पनि जानकारी दिए ।
प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात बिताएका थिए । त्यसपछि एक हप्ता सामान्य शैयामा बसेका हुन् । सघन कक्षबाट बाहिरिएपछि उनले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्ने लगायतका क्रियाकलाप गर्दै आएका छन् ।
प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गरेका थिए ।
जोन हप्किन्स विश्वविद्यालयले जारी गरेको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट बेलायतमा अहिलेसम्म २० हजार ७३२ जनाको मृत्यु भइसकेको छ । यस्तै कोरोना संकमितको संख्या १ लाख ५४ हजार ३७ पुगेको छ ।
बेलायतभन्दा अगाडी अमेरिका, इटली, स्पेन र फ्रान्समा २० हजारभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । पछिल्लो दुई हप्तामा बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ ।