logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किम जोङ जीवितै छन् : दक्षिण कोरिया


अंकुरण खबर
988
Shares

उत्तर कोरियाली नेता किम जोङ उनको मृत्यु भएको हल्ला चलिरहेका दक्षिण कोरियाले भने उनी जीवितै रहेको बताएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनका राष्ट्रिय सुरक्षासम्बन्धी विशेष सल्लाहकार मुन चुङ इनले सीएनएनसँग आइतबार भनेका छन्, ‘किम जोङ उन जीवित मात्र होइन, राम्रो अवस्थामा छन् ।’

किमको मुटुको शल्यक्रियापछि स्वास्थ्य गम्भीर रहेको दाबीसहित विभिन्न खाले हल्ला फैलिएका बेला दक्षिण कोरियाले किमलाई केहि नभएको स्पष्ट पारेको हो । नेता किम अहिले उत्तर कोरियाको पूर्वीतटीय क्षेत्रको उन्सानमा रहेको उनले बताएका छन् । त्यस क्षेत्रमा अहिलेसम्म कुनै पनि असामान्य गतिविधि नदेखिएको उनले सीएनएनसँग बताएका छन् ।

उत्तर कोरियाको एक दलीय कम्युनिष्ट शासनबारे उत्तर कोरियाली सरकारी सञ्चार माध्यमपछि दक्षिण कोरियाले दिने जानकारी आधिकारिक मानिन्छ ।

सार्वजनिक रुपमा देखा नपरेपछि दुई सातायता किमबारे विभिन्न अनुमान गरिँदै आएको थियो । दक्षिण कोरिया, चीन र केही जापानी अधिकारीले उनको स्वस्थ्य उपचार भइरहेको अपुष्ट जानकारी दिएका थिए ।

गुप्तचर निकायहरूलाई उल्लेख गर्दै केही अन्तर्राष्ट्रिय सञ्चार संस्थाले भने शनिबार राति उनको निधन भएको अपुष्ट खबर दिएका थिए । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि केहि दिनअघि किम अस्वथ्य भए पनि जीवित नै रहेको बताएका थिए ।