विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ लाख नाघेको छ । यीमध्ये १० लाख जना निको भएको बीबीसीले जनाएको छ ।
यसको अर्थ कोरोना भाइरसको मृत्यु दर निकै कम छ। संक्रमित ३२ लाखमध्ये धेरैजसो रिकभर हुने देखिन्छ। तर, यसका लागि निकै लामो समय लाग्ने निश्चित छ।
मेडिकल जर्नल द लान्सेटले भनेको छ, ‘कोरोनाको मृत्युदर एन्फ्लुएन्जाभन्दा ०.१ प्रतिशत बढी छ। र सार्सभन्दा ९.५ प्रतिशत कम। क्रुज शिपमा भएको संक्रमण हेर्ने हो भने मृत्युदर करिब १ प्रतिशत छ। यद्यपि, परीक्षणमा भने समस्या थियो।
हरेक देशमा परीक्षणको अवस्था फरक–फरक छ। कुनै पनि देशको क्रुज शिपमा शतप्रतिशत परीक्षण भएको छैन।
जहाँ कोरोनाको स्पष्ट लक्षण देखिएको छ र पर्याप्त परीक्षण भएको छ, त्यहाँ मृत्युदर एक प्रतिशतभन्दा बढी छ। मृत्यु हुनेमध्ये कतिपय यस्ता पनि छन्, जसमा आधिकारिक रुपमा संक्रमण भएको जानकारी पनि छैन।
उता, अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागि पछिल्लोपटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन्।
विश्वभर संक्रमितको संख्या बढ्दै गएको र आर्थिक विशृंखलता निम्त्याएको कोरोना भाइरसको औषधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र खुसियाली छाएको छ।
औषधिको परीक्षण निकै सफल भएको खबर सार्वजनिक भएसँगै त्यसको सकारात्मक असर वालस्ट्रिटसहित विश्वको सेयर बजारमा देखिएको छ।
अमेरिकामा एक दशकयताकै सबैभन्दा खराब आर्थिक स्थिति देखिए पनि वालस्ट्रिटमा सकारात्मक प्रभाव देखिएको छ। अर्कातर्फ जर्मनीको पनि दोस्रो विश्वयुद्धपछि पहिलोपटक अर्थव्यवस्था सबैभन्दा कमजोर अवस्थामा पुगेको छ।
रेमडेसिभर नामको औषधिको क्लिनिकल परीक्षणले मानिसको निको हुने दर करिब ३० प्रतिशतले बढेको देखाएको छ।हालसम्म यो औषधि नै नयाँ कोरोना भाइरसको उपचारमा सबैभन्दा सफल मानिएको छ।
अमेरिकी इपिडिमियोलोजिस्ट डा. एन्थोनी फचीले संवाददाताहरुसँग रेमडेसिभर औषधिको प्रभाव र असर निकै उत्साहप्रद रहेको बताए। यो औषधि इबोला भाइरसका बिरामीका लागि भने असफल देखिएको थियो।
यही औषधि चीनको उहानका बिरामीमा परीक्षण गर्दा पनि त्यति सफल मानिएको थिएन। बीबीसी