logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्युजील्यान्डकी प्रधानमन्त्रीले गरिन् हप्ताको चार दिन मात्र काम गर्ने प्रस्ताव


अंकुरण खबर
1.43K
Shares

हप्ताको चार दिन मात्र काम गर्दा जीवन र कामबीच सन्तुलन मिलाउन सकिन्छ भन्ने केहीको मत छ । यस मतलाई न्युजील्यान्डकी प्रधानमन्त्रीले पनि समर्थन गरेकी छन् ।

उनले कोरोनाभाइरस महाव्याधिले थिलथिलो पारेको अर्थतन्त्रलाई उकास्न यो अवधारणाले सहायता गर्न सक्ने बताएकी छन् ।

यसै हप्ताको शुरूतिर फेसबूक लाइभ गरेर प्रधानमन्त्री जासिन्डा आर्डर्नले देशमा आन्तरिक पर्यटनको पुनरुद्धार गर्ने उपायको चर्चाका क्रममा यो विषय उठाएकी हुन् । विगत केही महिनायता कोरोनाभाइरस संकटका कारण

संसारभरिका मानिस लकडाउनमा बस्न बाध्य भएका छन् र यात्राहरू ठप्प भएका छन् ।

‘मलाई धेरैजनाले हप्ताको चार दिन काम गर्ने सुझाव दिएका छन् । त्यो रोजगारदाता र जागिरेबीचको सहमतिमा भर पर्छ,’ उनले भनिन् ।

हप्तामा तीन दिन छुट्टी हुँदा आन्तरिक पर्यटकहरू घुम्न निस्कने सम्भावना रहने आर्डर्नको तर्क छ । न्युजील्यान्डको पर्यटन उद्योगमा ६० प्रतिशत हिस्सा आन्तरिक पर्यटन नै रहेको उनले बताइन् ।

प्रधानमन्त्रीले रोजगारदाताहरूलाई थप लचिलो कार्यस्थल वातावरण बनाउनेतर्फ विचार गर्न प्रोत्साहन गरेकी छन् । थोरै दिन काममा लगाउने अनि काम गर्ने समय चाहिँ बढाउने सम्भव भएसम्म गर्न उनको सुझाव छ । यसले देशभरि पर्यटनलाई बढावा मिल्ने उनको भनाइ छ ।

हालैका दिनमा थुप्रै देशमा हप्ताको चार दिन काम गर्ने अवधारणा लोकप्रिय बन्दै गएको छ । यसले उत्पादकत्व बढाउँछ कि भन्ने विषयमा रोजगारदाताहरूले परीक्षण गरिरहेका छन् । एजेन्सी