अमेरिकाले चीनसँगको सम्बन्ध बिगारेर नयाँ शीतयुद्धको स्थितिमा पुर्याएको चीनका परराष्ट्रमन्त्री वाङ यीले आइतवार बताएका छन् ।
कोरोनाभाइरसका विषयमा अमेरिकाले झूट बोलेको अनि बेइजिङ यस भाइरसको स्रोत खोज्न गरिने अन्तर्राष्ट्रिय प्रयासको पक्षमा रहेको उनका भनाइ छ ।
वाशिङटनसँगको वाग्युद्ध जारी राख्दै वाङले अमेरिका राजनीतिक भाइरसले ग्रस्त भएकाले त्यहाँका नेताहरूले चीनलाई निरन्तर आक्रमण गरिरहेको बताए ।
‘अमेरिकाका केही राजनीतिक शक्तिहरूले चीन र अमेरिकाबीचको सम्बन्धलाई बन्धक बनाइरहेका छन् र दुई देशलाई नयाँ शीतयुद्धतर्फ धकेलिरहेका छन्,’ वाङले एक पत्रकार सम्मेलनमा बताए ।
यी दुई देशबीच व्यापार, मानवअधिकार र अन्य थुप्रै विषयमा लामो समयदेखि विवाद रहेकोमा भाइरस फैलिएपछि चाहिँ तनाव उच्च बनेको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना महाव्याधिका लागि चीन जिम्मेवार रहेको बताउँदै निरन्तर कडा आलोचना गरिरहेका छन् । एजेन्सी