logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन हटाइयो भने महामारीको अवस्था भयाभय हुन सक्छ-डब्लूएचओ


अंकुरण खबर
754
Shares

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जुन देशमा अहिले कोरोना संक्रमण कम हुँदै गइरहेको छ, तिनमा तुरुन्त लकडाउनलगायत प्रतिबन्ध हटाइयो भने यो महामारी अझ दोब्बर मात्रामा फर्किन सक्ने चेतावनी दिएको छ।

डब्ल्यूएचओका आपतकालीन प्रमुख डाक्टर माइक रायनले केही देशमा अहिले कोरोना संक्रमणको पहिलो लहर नै चलिरहेको उल्लेख गर्दै जुन मुलुकमा संक्रमण केही कम हुँदै गएको देखिएको छ, हेलचक्रयाइँ गरे ती देशमा यो वर्षको अन्त्यमा पुनः दोब्बर मात्रामा यो महामारी फर्किन सक्ने खतरा रहेको बताएका हुन्।

उनले भनेका छन्, ‘अहिले केही देशमा संक्रमण कम हुँदै गएको छ, तर अझै मध्य र दक्षिण अमेरिका, अफ्रिका र दक्षिण एसियामा यो बढ्दै गएको छ।’ महामारी विभिन्न रूपमा धेरैपटक आउने र यसको अर्थ पहिलो लहर महामारी भइसकेका देशमा दोस्रो लहर अझ भयानक भएर आउने सक्ने उनले बताए।

‘यसर्थ यसको रोकथामा लागि अहिले नै तयारी नगरिए अर्को लहर आउन सक्छ,’ उनले भने। उनका अनुसार उत्तरी अमेरिका र युरोपका देशले कोरोना संक्रमण रोकथामका लागि भएका कदम जारी राख्नुपर्नेछ, जसले संक्रमणको दोस्रो लहर आउने जोखिम कम गर्न सकिनेछ।

युरोपका धेरै देश तथा र अमेरिकाका धेरै प्रान्तले लकडाउन हटाउन थालेपछि डब्लूएचओबाट यस्तो चेतावनी आएको हो। बीबीसी