पश्चिमी मुलुकहरूको सैन्य गठबन्धन नाटोका महासचिव जनरल जेन्स स्टोल्टेनबर्गले चीनको सैन्य वा आर्थिक उदयलाई पश्चिमले बेवास्ता गर्न नमिल्ने चेतावनी दिएका छन् ।
विश्वशक्तिको सन्तुलनमा परिवर्तन आइरहेको पनि उनले स्वीकार गरेका छन् ।
बुधवार बीबीसी रेडियोसँग कुराकानी गर्दै स्टोल्टेनबर्गले बेइजिङ पश्चिममा नियन्त्रण जमाउन अघि बढिरहेको र त्यसका लागि उसले साइबरस्पेस, टेलिकम्युनिकेसन्स, महत्त्वपूर्ण संरचना र आर्कटिक अन्वेषणलाई माध्यम बनाइरहेको बताए ।
‘हामीले चीनको उदयले ल्याउने परिणामलाई बेवास्ता गर्न सक्दैनौं । चीन छिट्टै संसारको सबभन्दा ठूलो अर्थतन्त्र बन्दैछ । अहिले नै उनीहरूसँग संसारको दोस्रो सबभन्दा ठूलो रक्षा बजेट छ,’ उनले चेतावनी दिए ।
बेलायतले चिनियाँ प्रविधि संस्था हुआवेलाई ५जी नेटवर्कको जिम्मेवारी दिएको भए पनि सुरक्षाको प्रत्याभूति गराउन भनेका छन् ।
स्टोल्टेनबर्गको टिप्पणीका विषयमा सोध्दा चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले चीन कुनै पनि देशका लागि जोखिम नभएको बताइन् । नाटोले चीनको विकासलाई तर्कसंगत ढंगले हेर्नुपर्ने हुआको भनाइ छ ।
एजेन्सी