विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डाक्टर जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन्।
डाक्टर भ्याण्डिलेरलेस्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा छिटै नै कोरोना संक्रमणको जोखिम घटाउन सकिने समेत बताए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारका पदाधिकारीका लागि गरेको अनलाईन प्रशिक्षण कार्यक्रममा संघ र प्रदेशको तुलनामा स्थानीय सरकारहरुले कोरोना केसको पहिचान र व्यवस्थित क्वारेन्टीन बनाउने विषयमा महत्वपुर्ण भूमिका खेल्न सक्ने, बताएका हुन्।
आफ्नो क्षेत्रका प्रत्येक व्यक्तिलाई व्यक्तिगत स्वास्थ्य हेरचाह र सचेतना दिने विषयमा पनि उनीहरुको भुमिकाले उल्लेख्य सहयोग पुर्याउने बताए।
उनले भने“ नेपालको कोरोना केही बाहेक समुदायमा फैलिएको अवस्था छैन । समुदायमा जान नदिन महत्वपुर्ण भूमिका स्थानीय सरकारका जनप्रतिनिधिको बढी हुन्छ। अहिले तत्कालको लागि नेपाल बाहिरबाट आउने नेपालीहरुलाई क्वारेन्टीनमा राख्ने र स्वास्थ्य परामर्श दिनु नै मुख्य रहेको छ।
सानो सानो कामका लागि पनि स्थानीय सरकारले परिवार भित्र पुगेर काम गर्न सक्ने भएकाले उनीहरुको भूमिका ठूलो हुन्छ। त्यसका लागि समुदायसंगको सम्बन्ध गाढा बनाउनुपर्ने हुन्छ । साथै समुदायको स्वास्थ्य सेवा वाहेक अत्यावश्यक सेवामा समेत महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।”
कोरोना संक्रमण नियन्त्रणमा गरिएको अन्तराष्ट्रिय अभ्यासको बारेमा जानकारी गराउदै उनले सामाजिक र भौतिक दुरी कायम राख्दै मास्क,स्यानिटाईजर प्रयोग गर्नुको साथै साबुनपानीले हात धुनुपर्ने लगायतका स्वास्थ्य सचेतना फैलाउनुपर्नेमा जोड दिए।