चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतको पोस्टमार्टम रिपोर्ट आएको छ। पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु सास थुनिएर भएको देखिएको छ।
उनको मृत्यु झुण्डिएका कारण सास बन्द भएर भएको देखिएको हो। सुरुवाती जाँच रिर्पोटमा उनको मृत्यु कुनै प्रकारको नसालु पदार्थ दिएका कारण भएको नदेखिएको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।
राजपूतको आज मुंबईमा अन्तिम संस्कार गरिने तयारी थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मुम्बईको बान्द्रास्थित एक्लै बस्दै आएका राजपुत आइतबार झुण्डिएको अवस्थामा फेला परेका थिए।
बालाजी टेलिफिल्मसका टेलिचलचित्रहरूबाट लोकप्रियता हासिल गरेका राजपुतले ३४ वर्षको कलिलै उमेर संसार छाडेका हुन। उनी बलिउडका चर्चित कलाकार मानिन्छन्।
के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुले पनि उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उनले आमिर खानको ‘पिके’ ‘एमएस धोनी’, ‘काइपे चे’, ‘केदारनाथ’ लगायतका सिनेमाहरूमा अभिनय गरेका छन्। राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।