कोरोना भाइरसको संक्रमण मत्थर बन्दै गएको चीनमा फेरि नयाँ संक्रमितको संख्या थपिदै गएका छन्।
कोरोना भाइरसको उद्गमस्थल मानिने चीनमा पुनः दोस्रो लहरको संक्रमण देखिन थालेको हो।
पछिल्लो २४ घण्टामा चीनमा ४४ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन चीनमा ४० जना संक्रमित भेटिएका थिए। केही दिनयता मात्रै चीनमा थपिएका कोरोना संक्रमितको संख्या २ सय ५२ पुगेको छ।
केही समयअघि चीनमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको थियो। तर पछिल्लो समय फेरि संक्रमण फैलिएको हो। चीनमा पुनः संक्रमण फैलिएपछि त्यहाँको सरकारले चीनको राजधानी बेइजिङमा कडा प्रतिन्धको घोषणा गरेको छ।
चीनमा कोरोना संक्रमितको संख्या ८३ हजार २ सय ६५ पुगेको छ भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ। जसमध्ये ७८ हजार ३ सय ७९ जना उपचारपछि निको भएका छन् भने २५२ जना एक्टिभ र ५ जना गम्भिर संक्रमितको उपचार भइरहेको छ।