कोभिड–१९ को महामारीको संक्रमणबाट भारतमा एकै दिन झण्डै १७ हजारमा संक्रमण पुष्टि भएको छ। एकै दिन यति धेरै संख्यामा संक्रमण देखिएको यो अहिलेसम्मकै उच्च हो।
भारत सरकारले सार्वजनिक गरेको तथ्यअनुसार, गएको २४ घण्टामा १६ हजार ८९४ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै भारतमा संक्रमित संख्या चार लाख ७३ हजार पुगेको छ। गएको २४ घण्टामा ४१८ जनाको संक्रमणबाट मृत्यु भएको छ।
गएको २४ घण्टामा मुम्बईमा धेरै संक्रमित पुष्टि भएको छ। मुम्बइमा एकै दिन तीन हजार ७८८ जना संक्रमित भेटिएका छन्।
संक्रमण झनै बढेर गएपछि बेङ्गाल सरकराले बन्दाबन्दीको अवधि बढाएको छ। मुख्यमन्त्री ममता बेनर्जीले बन्दाबन्दी ३१ जुलाइसम्म थपिएको घोषणा गरेकी छन्।
भारत बढी संक्रमित हुनेमा विश्वको चौथो मुलुक हो। भारतमा अहिलेसम्म १४ हजार बढीको संक्रमणबाट मृत्यु भइसकेको छ। भारत भन्दा बढी संक्रमण हुने मुलुकमा रुस ६ लाख, ब्राजिल ११ लाख र अमेरिका २४ लाख छ।