logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या छ लाख नाघ्यो


अंकुरण खबर
936
Shares

महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ।

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ४ हजार ६४१ जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै १९ हजार १४८ जना कोरोनाभाइरसबाट संक्रमित भएका अधिकारीहरुले जनाएका छन्। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले २ लाख २६ हजार ९४७ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाएको छ। कुल सङ्क्रमितमध्ये ३ लाख ५९ हजार ८६० जना सङ्क्रमणमुक्त भएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

गत २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४३४ जनाको मृत्यु भएपछि हालसम्म यस भाइरसबाट १७ हजार ८३४ जनाको मृत्यु भएको छ । प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन्। त्यहाँ कुल संक्रमितको संख्या १ लाख ८० हजार २९८ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण महाराष्ट्रमा ८ हजार ५३ जनाको मृत्यु भएको छ।

त्यसैगरी तमिलनाडुमा ९४ हजार ४९ जना संक्रमित भएका छन् । तमिलनाडुमा संक्रमित मध्ये १ हजार २६४ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेशमा ८९ हजार ८०२ जना संक्रमित भएका छन्। दिल्लीमा यस भाइरसको कारण २ हजार ८०३ जनाको मृत्यु भएको छ।