logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रम्पको कर विवरण न्युयोर्कका अभियोजनकर्ताले हेर्न पाउने


अंकुरण खबर
754
Shares

अमेरिकामा सर्वोच्च अदालतले राष्ट्रपति डोनल्ड ट्रम्पको वित्तीय विवरण न्युयोर्कका अभियोजनकर्ताहरूले परीक्षण गर्न पाउने फैसला गरेको छ ।

अर्को सम्बन्धित मुद्दामा भने अदालतले उक्त विवरण कंग्रेसलाई दिनु जरुरी नभएको फैसला गरेको छ । ट्रम्पद्वारा अमेरिकी राज्यहरूको लकडाउन विरोधी आफ्ना ट्‍विटको बचाउ गरेका छन् । आफ्ना पूर्ववर्तीहरूले जस्तो कर दाखिलाका विवरण सार्वजनिक नगरेकोमा राष्ट्रपति ट्रम्प आलोचित हुँदै आएका थिए ।

उनका वकिलले ह्वाइट हाउसमा रहुञ्जेल उनलाई पूर्ण उन्मुक्ति रहेको जिकिर गर्दै कंग्रेससँग त्यस्तो विवरण माग गर्ने कुनै उचित कारण नभएको जनाएका थिए । विपक्षी डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको तल्लो सदनका दुई समिति तथा न्युयोर्कका अभियोजनकर्ता साइरस भान्सले ट्रम्पको कैयन् वर्षदेखिका कर विवरणको माग गरिरहेका थिए ।

अमेरिकी राष्ट्रपतिको स्वार्थ बाझिएको सम्बन्धी विद्यमान कानुन कत्तिको प्रभावकारी छ भनेर जाँच्न ती आवश्यक भएको उनीहरूको जिकिर थियो ।

रिपब्लिकन नेता ट्रम्पले भने आफूले कुनै गल्ती नगरेको भन्दै आएका छन्। सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध राष्ट्रपति ट्रम्पले क्रुद्धतापूर्ण प्रतिक्रिया जनाएका छन् । आफू राजनीतिक स्वार्थप्रेरित कारबाहीबाट पीडित भएको उनले बताएका छन् ।

बीबीसी संवाददाता ग्यारी ओ डोनोह्यु भने, ‘राष्ट्रपतिले यसमा सफाइ पाउने आशा गरेका थिए, जुन हुन सकेन ।’ तर ती दस्तावेजबाट आउने सूचना नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनभन्दा अगाडि सार्वजनिक गरिने सम्भावना पनि कमै रहेको उनको भनाइ छ ।

यसबीच डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले आफूले गत २१ वर्षको कर दाखिलाका दस्तावेज सार्वजनिक गरेको भन्दै ट्रम्पलाई या त आफ्नो रेकर्ड सार्वजनिक गर्न या त चुप लागेर बस्न भनेका छन् । सर्वोच्च अदालतका दुवै निर्णयविरुद्ध सात न्यायाधीशको बहुमतले गरिएका थिए । बीबीसी