logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानकी बहादुर किशोरी, आमाबाबुको हत्या गर्ने तालिवानसँग लिइन् बदला


अंकुरण खबर
2.028K
Shares

अफगानिस्तानमा एक किशोरीले आफ्नो आमाबाबुको हत्यारासँग बदला लिएकी छिन् ।

विद्रोही समूह तालिवान लडाकुसँग किशोरीले बदला लिएको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको बहादुरीलाई लिएर प्रशंसा सुरु भएको छ ।

किशोरीले आमाबाबुको हत्यारा दुई तालिवान लडाकुको गएको हप्ता हत्या गरेकी बीबीसीले जनाएको छ । अफगानिस्तानको गोर प्रान्तको ग्रीवा गाउँमा गएको जुलाई १७ तारिखमा यो घटना भएको हो ।

त्यहाँका अधिकारीका अनुसार किशोरीले आफ्नो घरमा भएको एके–४७ राइफलमार्फत दुई गोली प्रहार गरेकी थिइन् । गोली लागेर दुई लडाकुको ज्यान गएको थियो भने केही घाइते भएका थिए ।

किशोरीको उमेर १४ देखि १६ वर्षको हुन सक्ने अनुमान गरिएको छ । किशोरीका बुवा सरकार समर्थक र गाउँका मुखिया थिए । जसका कारण तालिवान लडाकुले किशोरीको घरमा आक्रमण गरेका थिए ।

प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीका अनुसार तालिवान लडाकुले किशोरीका बुबालाई तान्दै बाहिर ल्याएको र आमाले विरोध गर्दा दुवै जनाको हत्या गरेका थिए ।

त्यसपछि घरभित्र रहेकी किशोरीले एके–४७ बन्दुक ल्याएर विद्रोहीमाथि गोली प्रहार गरेकी थिइन् ।

तालिवानले किशोरीमाथि आक्रमण गर्ने प्रयास गरे पनि त्यो विफल भएको खबरमा उल्लेख छ । सुरक्षाकर्मीले किशोरी र उनका भाइलाई सुरक्षित ठाउँमा लगेका छन् ।