logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट संसारभर साढे ६ लाख मानिसको मृत्यु, एकै दिन चार हजार तीन सय तीन जनाको मृत्यु


अंकुरण खबर
793
Shares

कोरोना भाइरसको संक्रमणबाट संसारभर साढे ६ लाख मानिसको ज्यान गएको छ । गत २४ घन्टामा मात्रै चार हजार तीन सय तीन जनाले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार दुई सय ५६ पुगेको छ । अझै ६६ हजार दुई सय ७२ जना गम्भीर रहेका छन् । उनीहरुको आईसीयू तथा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

त्यस्तै, कोरोना संक्रमितको संख्या पनि गत २४ घन्टामा दुई लाख २१ हजार दुई सय ६० थपिएको छ । योसँगै संसारभर संक्रमितको संख्या एक करोड ६४ लाख २० हजार दुई सय ८७ पुगेको छ ।

निका हुने संक्रमितको संख्या पनि एक करोड नाघेको छ। सोमबार बिहानसम्म संक्रमितमध्ये एक करोड ४८ हजार ५२ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा पुगेको छ । गत २४ घन्टामा ४६ हजार थपिएसँगै कोरोना संक्रमितको संख्या ४३ लाख ७१ हजार आठ सय ३९ पुगेको छ। जसमध्ये एक लाख ४९ हजार आठ सय ४९ जनाको मृत्यु भएको छ ।

दोस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमितको संख्या २४ लाख २९ हजार नौ सय एक पुगेको छ । ब्राजिलमा ८७ हजार ५२ जनाले ज्यान गुमाइसकेका छन् ।

तेस्रो नम्बरमा रहेको भारतमा पनि गत २४ घन्टामा ५० हजार संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या १४ लाख ३६ हजार १९ पुगेको छ । सोमबार बिहानसम्म ३२ हजार आठ सय १२ जनाको मृत्यु भएको छ ।

नेपालमा भने संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । कोरोनाबाट ४६ जनाको मृत्यु भएको छ भने १३ हजार एक सय २८ जना निको भएका छन् ।