अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले अमेरिका सहित क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डका लागि लोकप्रिय सर्ट भिडियो सेयरिङ एप टिकटक सञ्चालनको अधिकार लिन चाहेको बताएको छ।
यसका लागि माइक्रोसफ्टले चिनियाँ कम्पनी बाइटडान्ससँग सम्झौता गर्न खोजेको जनाएको छ। एक विज्ञप्ति मार्फत माइक्रोसफ्टले सेप्टेम्बर १५ सम्ममा सम्झौताको टुङ्गो भइसक्ने उल्लेख गरेको छ।
आइतबार उक्त कम्पनीका सीईओ सत्य नाडेला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच छलफल भएपछि माइक्रोसफ्टले पछिल्लो विज्ञप्ति जारी गरेको हो।
यसअघि गत शुक्रबार ट्रम्पले अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने जनाएका थिए। अमेरिका चीन सम्बन्ध तनावपूर्ण अवस्थाबाट अगाडि बढिरहेका बेला ट्रम्पले टिकटकमाथि व्यक्तिगत गोपनियताको प्रश्न उठाउँदै प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि टिकटकले सङ्कलन गरेको तथ्याङ्क चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पुग्ने आरोप लगाएका थिए।
माइक्रोसफ्टले आफ्नो विज्ञप्तिमा टिकटक प्रयोग गर्ने सबै अमेरिकी प्रयोगकर्ताहरूको डाटा अमेरिकामा रहने र ट्रान्सफर नहुँने सुनिश्चिता गर्न चाहेको जनाएको छ।
राष्ट्रपति ट्रम्पको चिन्ता राम्रोसँग बुझेको बुझेको भन्दै माइक्रोसफ्टले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘प्रयोगकर्ताको सुरक्षा समीक्षा र अमेरिकाले पाउनु पर्ने आर्थिक फाइदाहरू पूरा गर्न टिकटक सञ्चालनमा भाग लिन चाहन्छौँ।’
माइक्रोसफ्टले सम्झौता गर्न लागेको जनाएपनि सम्झौता चिनियाँ कम्पनीसँग हुन्छ वा हुँदैन यस बारे भने निश्चितताका साथ केही भन्न सकेको छैन।
समाचार एजेन्सी रोयटर्सका अनुसार आफ्नै पार्टीका नेताको दबाबपछि ट्रम्प टिकटक बारेको आफ्नो धारणा परिवर्तन गर्न सहमत भएका छन्।
अमेरिकी र चिनियाँ कम्पनी बीच हुने सम्झौताका लागि ट्रम्प ४५ दिन पर्खिन तयार भएका हुन।
माइक्रोसफ्ट र बाइटडान्सबीच यदि यो सम्झौता सम्पन्न भएमा अमेरिकी सरकारको अमेरिकामा विदेशी लगानी हेर्ने समितिले अनुगमन गर्ने छ। यस सरकारी समितिले यी दुई कम्पनीहरूबीच भएको सम्झौतालाई आवश्यक परे प्रतिबन्ध गर्ने अधिकार समेत पाउनेछ।
चिनियाँ अखबार चाइना डेलीले सोमबार आफ्नो एक रिपोर्टमा चिनियाँ कम्पनी बाइटडान्स अमेरिकी ‘बोक्सीको शिकार’भएको वर्णन गरेको छ। चिनियाँ एपले कसरी उनीहरूको सुरक्षाका लागि खतरा भयो भनेर अमेरिकाले प्रमाण दिन नसकेको जनाएको छ।
यदि माइक्रोसफ्ट र चिनियाँ कम्पनी बाइटडान्स बीच सम्झौता भए माइक्रोसफ्टका लागि यो ‘ठूलो सफलता’ मानिनेछ।
चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक निकै तीव्र गतिमा मानिसहरूले रुचाएको एप हो।
बाइटडान्सका लागि निकै ठूलो धक्का हुने ठानिएको यस एपको अमेरिकामा मात्र ८ करोड सक्रिय प्रयोगकर्ता छन्।