logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानको कारागारमा आतंकवादी आक्रमण, २९ जनाको मृत्यु


अंकुरण खबर
1.183K
Shares

अफगानिस्तानको पूर्वी भागमा रहेको शहर जलालाबादको एक कारागारमा आक्रमण हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ । घटनामा एक हजारभन्दा बढी कैदीहरू भाग्न खोजेका छन् ।

इस्लामिक स्टेट नामक आतंकवादी समूहले आक्रमणको जिम्मेवारी लिएको छ । आइतवार साँझ कारागारको प्रवेशद्वारमा कार बम विस्फोट गराएपछि आक्रमण शुरू भएको थियो ।

कुल २० घन्टा चलेको भिडन्तमा आठजना आक्रमणकारी मारिएको नानगरहार प्रान्तका एक प्रवक्ताले बताए । लगभग ३०० कैदीहरू अझै फरार छन् ।

आक्रमण हुँदा कारागारमा १७ सय ९३ जना कैदी थिए । तीमध्ये अधिकांश तालिबान र आईएस लडाकू भएको सुरक्षा स्रोतले एएफपी समाचार संस्थाले लेख्यो । विशेष कैदीहरूलाई कारागारबाट भगाउन आक्रमण गरिएको हो कि हैन भन्ने स्पष्ट भइसकेको छैन ।

प्रान्तीय प्रवक्ताका अनुसार, भागेकामध्ये १ हजार २५ कैदीलाई कारागार ल्याइसकिएको छ भने ४३० जनालाई उद्धार गरिएको छ । ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् ।

यस्ता किसिमका आक्रमण गरेर आईएसले आफू सक्षम रहेको र आफ्ना सञ्जाल तथा क्षमताहरू कायमै रहेको सन्देश दिन खोजेको छ । बीबीसी