गएको जनवरी अन्तिममा चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) ले पूरै विश्वलाई गाँजिसकेको छ ।
विश्वभर आज (बुधबार) मध्यान्हसम्मको तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित भएका मध्ये ७ लाखभन्दा बढीको ज्यान गइसकेको छ । अमेरिका, ब्राजिल भारत, मेक्सिकोलगायत देशमा मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यो महामारीबाट दैनिक करिब ५ हजार ९०० जनाको ज्यान गइरहेको छ । अर्थात् प्रत्येक एक घण्टामा २४७ जना कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।
सेकेन्डका आधारमा भन्ने हो भने हरेक १५ सेकेन्डमा एक जनाको ज्यान गइरहेको छ । यो आँकडा पछिल्लो हप्ताको मृत्युको आधारमा निकालिएको हो ।
अहिले कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका तथा ल्याटिन अमेरिकी देशहरु छन् । ल्याटिन अमेरिकामा ६४ करोड जनसंख्या छ, जसमध्ये १० करोडभन्दा बढी झुपडीमा बस्छन् ।
३३ करोड जनसंख्या भएको अमेरिका पनि कोरोनासँग लडिरहेको छ । अमेरिकाका शीर्ष महामारी रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना संक्रमण बढेका राज्यमा फेरि लकडाउन गर्नुपर्ने बताएका छन् । बीबीसी