logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विस्फोटपछि शोकमा डुब्यो लेबनान !


अंकुरण खबर
650
Shares

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार साँझ भएको शक्तिशाली विस्फोटका कारण सयजना भन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते छन् ।

करिब २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको उक्त विस्फोटमा परी ४ हजार भन्दा बढी घाइते भएका छन् । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रे ट’ भण्डारण गरिएको थियो ।

सो विस्फोटको आवाज निकै टाढासम्म सुनिएको त्यहाँका स्थानीयवासीले जनाएका छन् । अहिले पनि सो विस्फोटपछि धुवाँ उडेका तस्बिरहरु त्यहाँका सञ्चारमाध्यमहरुले दिइरहेका छन् ।

ती तस्बिरहरु हेर्दा अवस्था निकै क्षतविक्षत देखिएको छ । विस्फोटपछिका अनलाइनमा राखिएका भिडिओहरुमा धुवाँको विशाल मुस्लो देखिएको छ र यहाँ धेरै क्षति भएका भौतिक संरचनाको अवस्था पनि देखिएको छ ।

त्यस गोदाममा कुनै बाह्य आक्रमण भएका कारण यो विस्फोट भयो कि आफैं विस्फोट हुन पुगेको हो भन्ने कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ ।

लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा राखिएको एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्‍याएको बताएका छन् ।

लेबनानका प्रधानमन्त्री हासान डीयाबले विस्फोटलाई देशको ठूलो विपत्ति बताएका छन् । उनले यस विषयको अनुसन्धान शुरु भइसकेको र दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन् ।

उनले एक टेलिभिजनमा सम्बोधन गर्दै ‘घटनामा संलग्नहरुलाई कडा कारबाही गरिने र उनीहरुलाई उम्किन दिइने छैन’ भनेका छन् ।

गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्थाका बारेमा जाँचबुझ गरी पाँच महिना अघि नै लेबनान सरकारलाई प्रतिबेदन बुझाइएको पनि संचार माध्यमहरुले जनाएका छन् । प्रतिबेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औंल्याइएको थियो ।

लेबनानमा भएको विस्फोटबाट कैयौँ नागरिकको ज्यान गएको घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् ।

उनले उक्त विस्फोटलाई एक डरलाग्दो घटना भनेका छन् । ह्वाइटहा हाउसमा आयोजना गरिएको प्रेस भेटघाटमा सम्वाददाताहरुसँग उनले सो कुरा बताएका हुन् ।

ट्रम्पले भनेका छन्– यो एकदमै डरलाग्दो घटना भएको छ, यसबाट लेबनानका कैयौँ नागरिकको ज्यान गएको छ, म लेबनान सरकार र त्यहाँका सबै नागरिकप्रति सान्त्वना दिन चाहन्छु । त्यसैगरी अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसस् र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उक्त विस्फोटप्रति दुःख व्यक्त गरेका छन् ।

उनीहरुले यस्तो अवस्थामा जेजस्तो प्रकारको सहयोग गर्नु परे पनि आफूहरु तयार रहेको जानकारी लेबनान सरकारलाई गराएका छन् ।

एएफपी