अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच फोनवार्ता भएको छ ।
वार्ताका क्रममा उनीहरुबीच अमेरिका र भारतबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। हिजो भएको फोनवार्तामा दुई देशबीचको शान्ति, समृद्धि र सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ।
त्यसैगरी दुई विदेशमन्त्री बीचमा अफगानिस्तानमा शान्ति स्थापनाको विषयमा पनि कुराकानी भएको बताइएको छ । अफगानिस्तानमा अमेरिकी प्रयासमा शान्ति वार्ताको प्रयास भएको बताइएको छ ।
त्यसैगरी हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसले अमेरिका र भारतमा धेरै नागरिक सङ्क्रमित बनाएको अवस्थामा त्यसको नियन्त्रण र रोकथामका लागि आपसमा मिलेर एक अर्कालाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।
टेलिफोन वार्तापछि अमेरिकी विदेशमन्त्री पोम्पेओले भने-‘भारतका विदेशमन्त्री एस जयशंकरसँग राम्रो कुराकानी भयो, त्यसक्रममा विशेषगरी अमेरिका र भारतबीचको सम्बन्धका विषयमा कुराकानी भएको थियो।’ रासस