चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले चिनियाँ सरकारले केही निश्चित क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई गत जुलाईबाटै कोरोना भ्याक्सिन दिइरहेको खुलासा गरेका छन् ।
राष्ट्रिय स्वास्थ्य आयोगका विज्ञान तथा प्रविधि केन्द्र प्रमुख चेङ चोंगेईले चीनमा केही निश्चित क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई गत जुलाईबाटै कोरोना भ्याक्सिन दिन सुरु गरिएको खुलासा गरेका हुन् ।
उनले चिनियाँ सरकारी मिडिया संस्था सीसीटीभीसँगको कुाराकानीका क्रममा सरकारले सार्स कोभिड-१९ को भ्याक्सिन स्वास्थ्यकर्मी र सीमामा तैनाथ अधिकारीहरुलाई ‘आपातकालीन प्रयोग’ का रुपमा दिन अनुमति दिएको बताएका छन् ।
चेङ भ्याक्सिन विकसित गर्ने चीन सरकारको टास्क-फोर्सको नेतृत्व गरिरहेका छन् । उनले पछिल्लो सातायता चीनमा स्थानीय संक्रमणका कुनै पनि कोरोना संक्रमित नदेखिएको पनि बताएका छन् ।
यो चीनमा क्लिनिकल ट्रायलबाहिर भ्याक्सिन प्रयोग गरिएको पहिलो मामिला हो, जुन पुष्टि भएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कुन भ्याक्सिन दिइएको हो र कति जनालाई दिइएको हो भन्नेबारे भने केही खुलाइएको छैन ।
तर, चेङले पूर्णतस् कानुनको पालना गरेर भ्याक्सिन दिइएको दाबी गरेका छन् । उनले गम्भीर स्वास्थ्य संकटमा गैर(प्रमाणित भ्याक्सिन सीमित उपयोगका लागि कानुनले नै अनुमति दिएको पनि दाबी गरेका छन् ।
उनले सीसीटीभीसँग भनेका छन्, “हामीले योजनाको श्रृंखला तयार गरेका छौं । जसमा मेडिकल सहमति पत्र, साइड इफेक्ट मोनिटरिङ प्लान, बचाऊ योजना र क्षतिपूर्ति समावेश गरिएको छ । यो आपातकालीन प्रयोग पूर्णतया व्यवस्थित र निगरानीको दायरामा ल्याउन यस्तो गरिएको हो ।”
उनले चिसोयामअगावै अर्को समूहमा पनि परीक्षण गर्ने सरकारी योजना रहेको पनि बताएका छन् । विश्व स्वास्थ्य संगठन विश्वभरका एक सय ७० सम्भावित भ्याक्सिनहरुको निर्माणका लागि भइरहेको प्रयासलाई नियालिरहेको छ ।
चीनमा कैयौं भ्याक्सिन तेस्रो चरणको परीक्षणनजिक पुगिसकेका छन् । तेस्रो चरणमा हजारौं मानिसलाई भ्याक्सिन दिएर सुरक्षित र प्रभावकारिताको परीक्षण गरिनेछ । बीबीसी