अमेरिकाको विस्काँन्सिन राज्यमा एउटा अश्वेत (काला) जातिका पुरुषमाथि प्रहरीले लागतार ७ राउण्ड गोली प्रहार गरेको छ ।
याकुव ब्लेक नाम गरेका २९ वर्षीया पुरुषलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले उनका तीन बच्चाकै सामुन्ने ७ राउण्ड गोली प्रहार गरेको हो । काला जातिका पुरुषमाथि प्रहरीले गरेको ज्यादतिको भिडियो सार्वजनिक भएपछि सम्भावित हिंसालाई ध्यानमा राख्दै विस्काँन्सिन राज्यमा निषेधाज्ञा जारी गरिएको छ ।
गोली हानी घाइते भएका अश्वेत पुरुषको शल्यक्रिय गरिएको र अहिले उनको अवस्था सामान्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हाल सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ‘भाइरल’ भइरहेको भिडियोमा करिब ७–८ जना प्रहरीले अश्वेत पुरुष ब्लेडलाई घेरा हालेको देखिन्छ ।
प्रहरीले घेरा हालेकै अवस्थामा ब्लेड आफ्नो कारको अगाडिको सिटमा बस्न खोज्छन् । तर, प्रहरी अधिकृतले भने उनको टिसर्ट तान्दै पछाडिबाट ७ राउण्ड गोली प्रहार गर्छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रहरीले गोली प्रहार गर्ने बेला ब्लेडका ३ जना सन्तान गाडी भित्रै थिए ।
प्रहरीले गोली हानेको भिडियो सार्वजनिक भएपछि त्यहाँका नागरिक प्रदर्शनमा उत्रिएका थिए । विरोधमा उत्रिएकाहरुले सवारी साधनमा आगजनी गर्न थालेपछि त्यहाँका गभर्नरले आपतकाल घोषणा गर्दै नेशनल गार्ड परिचालन गर्ने आदेश दिएका छन् ।
अमेरिकी प्रहरीले ज्यादतिका कारण यसअघि पनि अमेरिकामा एक अश्वेत नागरिकको मृत्यु भएको थियो ।
प्रहरीले नियन्त्रणमा लिने क्रममा घाँटी थिच्दा मिनियापोलिसमा जर्ज फ्लोइडको मृत्यु भएको थियो । जर्जमाथि प्रहरीको ज्यादतिविरुद्ध अमेरिका भरी नै विरोध प्रदर्शन भएको थियो ।