चलचित्र निर्देशक तथा कलाकार महेश मञ्जरेकरले मुम्बई प्रहरीमा उजुरी दर्ता गराएका थिए । अबु सलेम गिरोहका सदस्य भएको दाबी गर्दै एक व्यक्तिले महेशसँग ३५ करोड रुपैयाँ चन्दा माग गरेपछि महेशले ती फोन गर्ने व्यक्तिविरुद्ध उजुरी दर्ता गराएका हुन् ।
महेशको उजुरीअनुसार मुम्बई प्रहरीले ती व्यक्तिलाई महाराष्ट्रको रत्नागिरीबाट पक्राउ गरेको छ । यद्यपि ती व्यक्ति कुनै गिरोहका सदस्य नभएर एक चिया व्यापारी रहेको खुलेको छ । मिलिन्द बी नाम गरेका ती आरोपीतले २३ अगस्तदेखि २५ अगस्तभित्रमा महेशलाई धेरैपटक फोनमार्फत धम्क्याइसकेको डेपुटी पुलिस कमिसनर अबकर पठानले पुष्टि गरेको छ ।
आरोपीले महेशलाई सलेमको गिरोह सदस्य भएको र उसले भनेको नमानेमा गम्भीर परिणाम सामना गर्नुपर्ने भन्दै धम्काउने गरेको पनि पुष्टि गरेका छन् ।
आरोपितलाई अदालतमा पेस गरिएको थियो र अदालतले सेप्टेम्बर २ सम्म प्रहरी हिरासतमा राख्न निर्देशन गरेको छ । मुम्बई प्रहरी र एन्टी-एक्सटोरेसन सेलको छिटो कारबाही र कामप्रति खुसी व्यक्त गर्दै महेशले ट्विटरमार्फत धन्यवाद दिएका छन् । एजेन्सी