logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप चार देशले दिए चीनको खोप परीक्षणको स्वीकृति


अंकुरण खबर
1.833K
Shares

चीनमा बनिरहेको कोरोना भाइरसविरुद्धको खोप थप चार देशले तेस्रो चरणको परीक्षणका लागि अनुमति दिएका छन्। यीसहित अब १० देशमा अन्तिम चरणको परीक्षण हुनेछ।

चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोवैक बायोटेक लिमिटेडले थप चार देशले तेस्रो चरणको ‘क्लिनिकल ट्रायल’ का लागि अनुमति दिएका जनाएका छन्।

तीमध्ये सर्बिया र पाकिस्तानको नाम खुलाइए पनि अन्य दुई देशबारे जानकारी दिइएको छैन। ती दुई देशले खोपबारे थप तथ्याङ्क मागेको जनाइएको छ।

यसअघि ६ देश युएई, बहराइन, पेरु मोरक्को, अर्जेन्टिना र जोर्डनले खोप परीक्षणको स्वीकृति दिएका थिए। चीनले आफ्नो देशमा कोरोना भाइरस संक्रमितको संख्या ज्यादै कम भएकाले अन्य देशमा परीक्षण गर्न लागेको हो।

सर्बियामा सीएनबीजीले विकास गरेको दुई खोपको परीक्षण हुनेछ। यी दुवै खोप वुहान र बेइजिङको सीएनबीजी युनिटमा बनाइएको हो। पाकिस्तानमा पनि बेइजिङमा तयार गरिएको खोप प्रयोग गरिनेछ।

सीएनबीजीले तेस्रो चरणमा १० देशका करीब ५० हजार जनालाई खोप लगाउने संभावना छ। यसअघि चीनले उक्त खोप आफ्नो देशमा जोखिमको क्षेत्रमा काम गर्नेलाई लगाएको जनाएको थियो। उसले स्वास्थ्यकर्मी र सीमा क्षेत्रमा कामदारलाई खोप दिएको थियो।