logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्रान्सको राजधानी पेरिससहितका ९ शहरमा कर्फ्यू


अंकुरण खबर
884
Shares

कोरोना भाइरसको संक्रमण पुनः तीव्र रुपमा बढ्न थालेपछि फ्रान्सको राजधानी पेरिससहितका ९ शहरमा कर्फ्यू लागेको छ ।

स्थानीय समय अनुसार शनिबार रातिदेखि पेरिससहितका शहरमा कर्फ्यू लागु भएको हो ।

युरोपका विभिन्न देशमा अहिले कोरोना भाइरसको संक्रमण पुनः बढिरहेको छ । पछिल्लो संक्रमणको हटस्पट फ्रान्स बनेको छ ।

यसअघि फ्रान्समा संक्रमणको पहिलो चरणका बेला दुई महिना लकडाउन भएको थियो । सो लकडाउनका कारण प्रभावित भएका रेस्टुरेन्ट व्यवसायीहरुले रातको समयमा कर्फ्यू लगाउने सरकारी निर्णयको विरोध गरेका छन् ।

कर्फ्यू लागेसँगै रात्रि जीवनका लागि चर्चित पेरिससहितका शहर सुनशान देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । फ्रान्सका पेरिस, मार्सेइली, लियोन, लिले र टुलुजसहितका शहरमा एक महिनाका लागि कर्फ्यू लागु भएको हो ।

राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू जारी रहने छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि अत्यावश्यक भएर कर्फ्यू लगाइएको राष्ट्रपति इम्यानुएल म्याक्रोँले बताएका छन् ।

इटालीमा पनि संक्रमण बढ्दै गएपछि प्रतिबन्धात्मक नयाँ नियमहरु लागु भएको छ । महामारीको पहिलो चरणमा युरोपमा सबैभन्दा पहिलो अधिक प्रभावित भएको देश इटालीमा अहिले महामारीको दोस्रो लहर सुरु भएको छ ।

सरकारले आइतबार संक्रमण नियन्त्रणका लागि नयाँ प्रतिबन्धात्मक निमय घोषणा गरेको छ । यस अनुसार अत्यावश्यक बाहेकका सेवाहरु निशानामा पर्ने छन् । रोयटर्स