अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ बैंकमा आफ्नो खाता रहेको स्वीकार गरेको खबर द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ ।
ट्रम्प इन्टरनेशनल होटल्स म्यानेजमेन्टको नियन्त्रणमा रहेको सो खाता मार्फत ट्रम्पले सन् २०१३ र २०१५ को बिचमा चीनमा स्थानीय कर पनि तिरेका थिए ।
ट्रम्पका प्रवक्ताका अनुसार सो खाता एसियामा होटल सम्बन्धी सम्भावित सम्झौता वा सहकार्यहरुको खोजीका लागि खोलिएको हो ।
अमेरिकी व्यवसायिक फर्महरुले चीनमा व्यापार गर्ने सम्बन्धमा ट्रम्प गम्भीर अर्थात आलोचक छन् र यसले अमेरिका र चीनबिच व्यापार युद्धको अवास्था सिर्जना गरेको छ ।
ट्रम्पको कर सम्बन्धी विवरण प्राप्त गर्ने क्रममा चिनियाँ बैंकमा रहेको खाताका सम्बन्धमा पनि जानकारी पाएको द न्यूयोर्क टाइम्समा प्रकाशित खबरमा उल्लेख छ ।
न्यूयोर्क टाइम्सले ट्रम्पको व्यक्तिगत तथा व्यवसायिक वित्त विवरण प्राप्त गरेको हो । यसअघि सो पत्रिकामा प्रकाशित खबर अनुसार ट्रम्पले सन् २०१६ र २०१७ मा आयकर बापत मात्रै ७५० अमेरिकी डलर प्रदान गरेका थिए ।
तर ट्रम्पको चिनियाँ बैंकमा रहेको खाता मार्फत त्यहाँ एक लाख ८८ हजार ५६१ डलर स्थानीय कर तिरेको देखिएको खबरमा उल्लेख छ ।
ट्रम्पले आफ्ना डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडेनको चीन नीतिको विरोध गर्दै आएका छन् । तर न्यूयोर्क टाइम्समा प्रकाशित खबरले भने ट्रम्पले गर्दै आएको चीनको आलोचना विपरीतको छवी उजागर गरेको विपक्षीले बताएका छन् ।