logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युरोपमा कोरोनाका कारण दैनिक मृत्युदर झण्डै ४० प्रतिशतले बढ्यो


अंकुरण खबर
780
Shares

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले युरोपमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या गत साताको भन्दा झण्डै ४० प्रतिशतले वृद्धि भएको जनाएको छ ।

डब्लुएचओकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्डस् र रुसमा धेरै संक्रमित देखिएको बताइन् ।

उनका अनुसार युरोमा संक्रमितको संख्या एक तिहाइले वृद्धि भएको छ । बिरामी मानिसले अस्पतालका सघन उपचार कक्षहरू भरिन थालेको भन्दै उनले चिन्ता समेत व्यक्त गरेकी छिन् ।

रुसमा एकै दिनमा ३ सय २० जनाको मृत्यु भएर अहिलेसम्म कै सर्वाधिक संख्या बनेको छ । इटलीमा विगत २४ घन्टामा २ सय २१ जनाले ज्यान गुमाएका छन् । अस्ट्रियामा १ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

अमेरिका, भारत, ब्राजिलपछि धेरै संक्रमित रुसमा छन् । मंगलबार मात्रै त्यहा १६ हजार ५ सय ५० संक्रमित थपिएका छन । इटलीमा एकै दिन २२ हजार नयाँ संक्रमित थपिएका छन् ।

बेल्जियममा विरामीको चाप बढेपछि संक्रमित चिकित्सकलाई समेत काममा आउन भनिएको छ । बेल्जियममा मंगलबार मात्र १२ हजार ६ सय ८७ नयाँ संक्रमित भेटिएका छन् भने ८९ जनाको मृत्यु भएको छ ।

यसबीच बेलायतको इम्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताहरूले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका मानिसहरूमा जुन महिनादेखि सेप्टेम्बर महिनाको बीचमा करिब एक चौथाइले एन्डीबडी घटेको पाइएको जनाएका छन । संक्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटनुलाई चिन्ताको विषय मानिएको छ । एजेन्सी