logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको दोस्रो लहर सुरु भएपछि लकडाउनमै फर्कियो युरोप


अंकुरण खबर
1.248K
Shares

कोरोना महामारीको पहिलो चरणमा विश्वभर नियन्त्रणको उपायका रुपमा सुरु भएको लकडाउन फेरि संक्रमण दर बढ्दै गएपछि विभिन्‍न मुलुकहरु देशव्यापी लकडाउनमा फर्किएका छन् ।

युरोपका दुई ठूला अर्थतन्त्र भएका मुलुक फ्रान्स र जर्मनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै देशव्यापी लकडाउनमा जाने निर्णय गरेका छन् । फ्रान्समा शुक्रबारदेखि देशव्यापी लकडाउन हुने भएको छ । फ्रान्समा शुक्रबारदेखि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाइने नियम जारी गरिएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले मुलुकमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको र पहिलोभन्दा निकै खतरानाक हुने बताउँदै देशव्यापी लकडाउनको घोषणा गरेका हुन् ।

त्यसैगरी जर्मनमा पनि ‘सफ्ट’ देशव्यापी लकडाउन जारी गरिएको छ । जर्मनीमा सोमबार देशव्यापी लकडाउन हुने भएको छ । फ्रान्सभन्दा केही कम प्रभावित भएको जर्मनमा रेस्टुरेन्ट, बार, जिम, थिएटरहरुलगायतका प्लेटफर्महरु बन्द गरिने चान्सलर एन्जेला मर्केलले बताएकी छन् ।

युरोपसँगै बेलायतमा पनि कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । बेलायतका बुधबार ३१० कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो भने २४ हजार ७०१ जना संक्रमित थपिएका थिए ।

बेलायतको एक अध्ययनले बेलायतका दैनिक एक लाख कोरोना भाइरस संक्रमित देखिने प्रक्षेपण गरेको छ । उक्त अध्ययनले सरकारलाई तत्काल कोरोना नियन्त्रणको नीति परिवर्तन गर्नसमेत सुझाएको छ ।

फ्रान्समा कोरोना संक्रमणबाट हुने मृत्यु अप्रिलयताकै सबभन्दा बढी देखिएको छ । फ्रान्समा बुधबार ३६ हजार ४३७ कोरोना भाइरस संक्रमित थपिएका छन् भने २४४ जनाको मृत्यु भएको छ ।

त्यसैगरी जर्मनका स्वास्थ्य अधिकारीका अनुसार बिहीबार हालसम्म थप ८९ जनाको मृत्यु भइसकेको छ भने १६ हजार ७७४ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि फेरि लकडाउन र प्रतिबन्धात्मक नियमहरु कडा पारिने समाचारहरुसँगै शेयर बजारमा गिरावट आएको छ । युरोपियन कमिसनका प्रमुख उर्सुला भोन डेर लियनले भने, ‘हामी दोस्रो लहरको गहिराइमा छौं । मलाई लाग्छ यस वर्षको क्रिसमस फरक क्रिसमस हुनेछ ।’  बीबीसी