युरोपा लिग फुटबलमा आर्सनल र लेस्टर सिटीले जित निकालेका छन् । गएराति आर्सनलले समूह बीको खेलमा क्लब डुनडल्कलाई तीन शुन्य गोलले पराजित गरेको हो । आर्सनलका लागि एडवर्ड निक्केया, जोसेफ विलोक र निकोलस पेपेले एक–एक गोल गरे ।
समूह जीको अर्को खेलमा लेस्टर सिटीले एइके एथेन्सलाई दुई एक गोल अन्तरले हराएको छ । लेस्टरका लागि जेमी भार्डी र हमजा चोधरीले गोल गरे । एथेन्सका लागि मुअम्बर टेन्कोविकले एक गोल फर्काए । सुरुवाती दुवै खेलमा जित निकाल्दै लेस्टर ग्रुपको शीर्ष स्थानमा छ ।
समुह जे को खेलमा टोटनह्याम रोयल एन्टवर्पसंग एक शुन्य गोल अन्तरले पराजित भएको छ । एन्टवर्पका लागि लियोर रेफेलोवले विजयी गोल गरे । समूह जेको दुई खेलबाट एन्टवर्प छ अंक जोड्दै शीर्ष स्थानमा छ ।
दोस्रो स्थानको टोटनह्यामको तीन अंक छ । अन्य खेलमा रेड स्टार बेलग्रेडेले स्लोभान लिबेरिक, एसी मिलानले स्पार्टा प्रागलाई हराएका छन । एजेन्सी