भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रवार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन् ।
दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट अहिलेसम्म तीनलाख ८१ हजार ६४४ जना संक्रमित भएका छन् । पछिल्लो समयमा दिल्लीमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
दिल्लीमा यसअघि गत बिहीवार पाँच हजार ७३९ जना नयाँ सङ्क्रमित भेटिएका थिए भने बुधवार पाँच हजार ६७३ जना भेटिएका थिए । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरण अनुसार शुक्रवार दिल्लीबाट चार हजार ४३३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन ।
दिल्लीमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको संख्या तीन लाख ४२ हजार ८११ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले दिल्लीमा अहिले ३२ हजार ३६३ जना अझै पनि संक्रमित अवस्थामै रहेको पनि उल्लेख गरेका छन् ।
त्यसैगरी कोरोना भाइरसका कारण दिल्लीमा अहिलेसम्म छ हजार ४७० जनाको मृत्यु भएको छ ।