logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टर्कीमा शक्तिशाली भूकम्प : चार दिनपछि जिवितै भेटिइन् तीन वर्षीया बालिका


अंकुरण खबर
936
Shares

पश्चिम टर्कीमा शक्तिशाली भूकम्पमा फसेकी एक बालिकाको ९१ घण्टापछि जिवितै उद्धार गरिएको छ।

अयदा गेजगिन नाम गरेकी तीन वर्षीया बालिकालाई इजमिर सहरको एक ८ तले अपार्टमेन्टस्थित भत्केको भवनको भग्नावशेषबाट चार दिनपछि उद्धार गरिएको अलजजिराले जनाएको छ।

टर्की र ग्रीसमा शुक्रवार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पमा परी टर्कीमा मात्रै मृत्यु हुनेको संख्या सय नाघेको छ। सयौ जना अस्पतालमा भर्ना भएका छन्।

मंगलवार उद्धार गरेर उनलाई एम्बुलेन्सबाट अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य छ। अयदालाई उद्धार गर्दा ताली बजाएर उद्धारकर्मीको सम्मान गरिएको थियो। उपस्थित भीडले भगवानलाई सम्झिँदै नारा लगाएका थिए।

शुक्रवारको भूकम्पमा परेर ९१ घण्टासम्म भग्नावशेषमा च्यापिएकी अयदाकी आमाको मृत्यु भएको छ। भाइ र पिता भने भूकम्पका बेला बाहिर थिए। उक्त अपार्टमेन्टबाट १०७ जनाको जिवितै उद्धार गरिएको छ।

उद्धारकर्ता नुसरत अक्सयका अनुसार ८ तलाको भग्नावशेष हटाउने क्रममा बालिका बोलेको आवाज सुनेका थिए। आवाज आएको भागतिर भग्नावशेष हटाउने क्रममा बालिकालाई भाडा माझ्ने मेसिनको छेउमा साँघुरो स्थानमा फसेको अवस्था फेला पारेर उद्धार गरेका थिए।

अक्सयले बालिकाको स्वास्थ्य सामान्य रहेको र उनले आफ्नो नाम पनि भनेको जानकारी दिएका छन्।

इजमिर सहरमा एक दिनअघि सोमवार मात्रै तीन वर्षीय बालिका र १४ वर्षीय किशोरीको जिवित उद्धार गरिएको थियो।