logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाइडेनले भावी रक्षा मन्त्रीका रुपमा पूर्व आर्मी जनरल लोयड अस्टिनलाई चयन गरे


अंकुरण खबर
897
Shares

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो प्रशासनको रक्षा मन्त्रीका रुपमा अवकास प्राप्त आर्मी जनरल लोयड अस्टिनलाई चयन गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

६७ वर्षका अस्टिन रक्षा मन्त्रालय पेन्टागनको जिम्मेवारी सम्हाल्ने पहिलो अश्वेत अमेरिकी हुने छन् । बाराक ओबामा प्रशासनमा अमेरिकाको केन्द्रीय कमाण्डको नेतृत्व गरेका जनरल अस्टिनको नियुक्तिका लागि सिनेटको स्वीकृति चाहिन्छ ।

राष्ट्रिय सुरक्षा टिम घोषणाको दुई हप्तापछि बाइडेनले रक्षा मन्त्रीका रुपमा अस्टिनलाई चयन गरेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । बाइडेन र जनरल अस्टिनले अहिलेसम्म यसबारे सार्वजनिक रुपमा कुनै पनि टिप्पणी गरेका छैनन् ।

यसअघि अमेरिकी सञ्चारमाध्यमले रक्षा मन्त्रीमा बाइडेनले पेन्टागनकी वरिष्ठ अधिकारी मिशेल फ्लानोयीलाई चयन गर्ने दाबीसहितका खबर प्रकाशित गरेका थिए । उनी मनोनित भएको भए रक्षा मन्त्री हुने पहिलो महिला बन्ने थिइन् ।

गएको नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् । ट्रम्पले बिना प्रमाण धाँधलीको आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् ।

बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा आउँदो जनवरी २० मा शपथ लिने छन्।