ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७८ हजार नाघेको छ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबार सम्ममा ब्राजिलमा कोरोनाको कारण एक लाख ७८ हजार १५९ जनाको मृत्यु भएको छ।
ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ। ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो।
ब्राजिलमा गत २४ घन्टामा ८४२ जना कोरोना भाइरसका संक्रमित बिरामीको ज्यान गएको पनि सो मन्त्रालयले जनाएको छ। केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै मृत्यु हो।
त्यसैगरी यहाँ गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा कम्तीमा पनि ५० हजार जनामा संक्रमण देखिएको पुष्टि भएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
गत सातादेखि नै यहाँका कोरोना संक्रमितको संख्या ५० हजार नाघेको बताइएको छ। दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ६६ लाख ७४ हजार ९९९ जना संक्रमित फेला परिसकेका छन्।
यसअघि जस्तै कोरोना नियन्त्रण गर्न नसकेको भन्दै अहिले पनि ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना हुँदै आएको छ। यसैक्रममा पछिल्लो पटक झन् धेरै संक्रमित भेटिन थालेपछि उनको विरोध भएको हो।
यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्यामा पनि वृद्धि हुने गरेको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। उनीहरुले ब्राजिलमा कोरोनाको दोस्रो चरणको लहर आएको बताएका छन्। एजेन्सी