logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाइडेनले लगाए कोरोनाविरुद्धको खोप, खोपलाई लिएर चिन्ता नगर्न आग्रह


अंकुरण खबर
2.782K
Shares

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

फाइजरले उत्पादन गरेको खोपको पहिलो मात्रा उनले लिएका हुन् । उनले खोप लगाएको दृश्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले डेलवरको नेवार्कमा खोप लगाएका हुन् । खोप लगाउने क्रममा उनले उपलब्ध भएका बेलामा खोप लगाउन मानिसहरु तयार हुन भनेर आफुले खोप लगाएको बताए ।

खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । बाइडेनकी श्रीमती डाक्टर जिल बाइडेनले पनि खोपको पहिलो डोज लिएकी छन् ।

उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पति डग एमहोफले आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ । यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए । अमेरिकामा अहिलेसम्म दुई खोपले स्वीकृति पाएका छन् ।

आइतबारदेखि मोडर्नाले विकास गरेको खोप पनि लगाउन थालिएको छ । त्यसको एक हप्ता पहिले नै फाइजर–बायोएनटेकको खोप लगाउन थालिएको थियो । अहिलेसम्म पाँच लाख भन्दा बढि अमेरिकीले खोप लगाइसकेका छन् ।

अमेरिकामा एक करोड ८० लाख भन्दा बढिमा कोरोना संक्रमण देखिएको छ । तीन लाख १९ हजार भन्दा बढीको मृत्यु भएको छ । एजेन्सी