बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दै गएको छ ।
वेलायतमा नयाँ स्वरुपको कोरोनाभाइरस देखिएपछि चिन्ता जनाउँदै विभिन्न देशहरुले अन्तर्राष्ट्रिय उडानसहित यात्रामा प्रतिबन्ध लगाउन थालेका छन् । अहिलेसम्म ४० वटाभन्दा बढी देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन्।
युरोपेली सङ्घले एउटा साझा नीति बनाउने विषयमा वार्ता गरिरहेको छ। कोरोनाभाइरसको नयाँ प्रकार झन् संक्राामक छ । तर, थप घातक रहेको प्रमाण फेला परेको छैन।
बेलायत र त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले त्यसको जोखिमको सन्दर्भबारे ध्यान दिन भनेको छ। डब्लुएचओका आपत्कालीन मामिला प्रमुख माइक रायनले भाइरसको नयाँ प्रकार महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भएको भन्दै त्यो “नियन्त्रण बाहिर नरहेको“ बताएका छन्।
त्यसैगरी उनले भने, ’ महामारीले बेला हामीले यो भन्दा खतरनाक अवस्था देखेका छौँ। र हामीले त्यसलाई पनि जितेको विश्वलाई सर्वज्ञात छ। जसकारण, बेलायतको देखिएको कोरोनाभाइरसको नयाँ प्रकारलाई अनियन्त्रित मान्नुहुन्न, यो नियन्त्रण हुन्छ। यद्यपि, हामीले यसलाई निश्चितरुपमा गम्भीरताका साथ लिनुपर्छ।’