logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना महामारीको उद्गम थलो वुहानबारे खबर लेख्ने चिनियाँ पत्रकारलाई चार वर्षको जेल सजाय


अंकुरण खबर
780
Shares

चीनले वुहानमा कोरोना भाइरसको महामारीबारे खबर लेख्ने पत्रकारलाई चार वर्षको जेल सजाय तोकेको छ ।

चिनियाँ पत्रकार तथा पूर्व वकिल जाङ्ग जानलाई स्थानीय अदालतले दोषी ठहर गरि सोमबार चार वर्ष जेल सजाय सुनाएको हो ।

३७ वर्षकी उनलाई गएको मे मा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी केही महिना भोकहड्तालमा पनि बसेकी थिइन् । उनको स्वास्थ्य अवस्था कमजोर रहेको उनका वकिलले बताएका छन् ।

उनी नागरिक पत्रकार हुन्, जसले कोरोना भाइरसको उद्गमस्थल वुहानबारे खबर लेखेकी थिइन् । वुहानबारे खबर लेखेकै कारण उनीसहित धेरै नागरिक पत्रकार चीनमा समस्यामा आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

जाङ्ग सोमबार बिहान वकिलसहित अदालत पुगेकी थिइन् । उनी गएको फेब्रुअरीमा महामारीबारे रिपोर्टिङ्गका लागि वुहान गएकी थिइन् । उनले त्यहाँबाट महामारीबारे लाइभस्ट्रिमिङ्ग गर्ने तथा रिपोर्टिङ्ग गर्ने गरेकी थिइन् ।

उनका रिपोर्टहरु सामाजिक सञ्जालमा निकै सेयर भएका थिए । त्यसपछि उनी चिनियाँ अधिकारीको चासोमा आएकी थिइन् ।

उनी मे १४ मा वुहानबाट हराएकी थिइन् । त्यसको एक दिनपछि मात्रै उनलाई सांघाई प्रहरीले पक्राउ गरेको खुलेको थियो ।

उनीमाथि गएको वर्षको नोभेम्बरमा लेख, भिडियोसहितका माध्यमबाट गलत समाचार फैलाएको आरोप लगाइएको थियो । उनीमाथि विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएकोसहितका आरोप पनि लागेको थियो ।

पाँच वर्षको जेलसजाय माग गरिएको भए पनि अदालतले चार वर्षको सजाय तोकेको हो