बेलायत प्रवेश गर्ने सबैले अब कोरोनाको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने भएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार अर्को देशबाट बेलायत आउने सबै यात्रुले कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बताएका हुन् । यसबारे विस्तृत जानकारी भने चाँडै नै दिइने उनको भनाइ छ ।
बेलायतमा कोरोनाको नयाँ स्वरुप तीव्र रुपमा फैलन थालेपछि सरकारले कडाइ गर्न थालेको छ। प्रमुख मेडिकल अफिसर क्रिस विट्टीले बेलायतमा हरेक ५० जनामा एक व्यक्ति कोरोना संक्रमित भएको बताएका छन् । यससँगै त्यहाँ ठूलो जनसंख्या कोरोना संक्रमणको चपेटामा परेको आँकलन गरिएको छ ।
स्वास्थ्य विज्ञका अनुसार बेलायतका सन् २०२० को अन्तिम दुई सातामा कोरोना संक्रमणमा ७० प्रतिशत वृद्धि भएको पाइएको थियो। कोरोनाको नयाँ स्वरुप बेलायतका सबै क्षेत्रमा फैलिएको पनि विज्ञहरुले जनाएका छन् ।
बेलायतमा हाल कोरोना संक्रमितको संख्या २७ लाख ८२ हजार ६ सय ९० पुगेको छ भने ७६ हजार ४ सय २७ जनाको मृत्यु भइसकेको छ । एजेन्सी