logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तेस्रो परीक्षणबिनै भ्याक्सिन प्रयोग गर्नु आपत्तिजनक : भारतीय वैज्ञानिक


अंकुरण खबर
715
Shares

कोरोनाविरूद्धको भ्याक्सिन प्रयोग गर्नका लागि भारतले दिएको अनुमतिमाथि भारतीय वैज्ञानिकहरूले आपत्ति जनाएका छन् ।

उनीहरूले भारतमा प्रयोग गरिने भनिएको भ्याक्सिनको तेस्रो परीक्षण भइनसकेकाले यसले झन् ठूलो जोखिम निम्त्याउने दाबी गरेका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

तेस्रो परीक्षणबिना नै भ्याक्सिन प्रयोग गर्न अनुमति दिनु अनुचित रहेको भन्दै इन्डियाज नेसनल इन्स्टिच्युट अफ इम्युनोलोजीकी इम्युनोलोजिस्ट बिनिता बालले भनिन्‚ ‘तेस्रो परीक्षणबिना नै कुनै भ्याक्सिन प्रयोग गर्न अनुमति दिनु सरकारको अनुचित निर्णय हो।’

भ्याक्सिन निर्माणकर्ताहरूले तेस्रो परीक्षणमा भ्याक्सिनको कम्तिमा पनि ५० प्रतिशत प्रभावकारिता पुष्टि गर्नुपर्ने क्रिस्चियन मेडिकल कलेजका भेलोरका इम्युनोलोजिस्ट गगनदिप काङले बताए।

उक्त भ्याक्सिनको प्रयोग हाललाई आपतकालीन केसमा भने प्रयोग गर्न मिल्ने बताउँदै थप क्लिनिकल परीक्षण जारी रहेको ड्रग्स कन्ट्रोलर जेनेरल अफ इन्डियाका भिजी सोमानीले बताए।

त्यस्तै भारत बायोटेकका प्रमुख तथा प्रबन्ध निर्देशक कृष्ण एल्लाले भने रूसमा निर्माण गरिएको भ्याक्सिन स्पुतनिक भी र चीनले निर्माण गरेको सिनोफार्मले समेत तेस्रो ट्रायल हुनुअघि नै आपतकालीन प्रयोगमा ल्याएको भन्दै यसमा अचम्म मान्नुपर्ने विषय नभएको बताए।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले आउँदो अगस्टसम्ममा देशको कूल जनसंख्याको एक चौथाइ व्यक्तिमा खोप लगाइसक्ने र त्यसको सुरूवात अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरूबाट गरिने बताइसकेको छ।